केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् । 

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए । 


‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन’ प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ ।’

प्रधानमन्त्रीले भने, ‘माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्यनिरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपिल गर्दै छौँ, पत्रकार सम्मलेन गर्दै छौँ । केही दिनमा समाजवादी मोर्चा बन्छ ।’

संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त भएको भन्दै उनले बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्ने बताए । भने, ‘चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस् । क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ ।’

समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने उनले बताए । त्यसको पहल पनि माओवादीहरूले नै लिनुपर्ने उनले बताए । 

‘एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ । हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ,’ उनले भने, ‘त्यो मत क्रान्तिको हितमा छ । कम्युनिस्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ ।’

एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा भएको भन्दै उनले नेकपा विभाजित हुँदा हिजो जसले दीपावली ग¥यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा रहेका बताए । 

प्रधानमन्त्रीले भने, ‘त्यो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आयो । माओवादी धार र सच्चा वामपन्थीहरूको एकताका निम्ति हामीले नै नेतृत्व लिनुपर्छ ।’ उनले नेता–कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढंगले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताए ।