एमाले संसदीय दलको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला नियुक्त



काठमाडौँ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । लामो समयपछि नेकपा एमालेले प्रमुख सचेतक र सचेतक चयन गरेको हो ।

संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्व स्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन् । गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।


उनीहरू दुवै जना कुनै बेला सँगै अनेरास्ववियुको केन्द्रीय कमिटीमा थिए । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतकमा युवा नेताहरूलाई जिम्मा दिएका हुन् । गिरी दोस्रो पटक चुनाव जितेर छोटो समय मन्त्री बनेर बाहिरिएका छन्् । उनी विद्यार्थी राजनीतिमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए ।

बर्तौला पहिलो पटक चुनाव जितेर संसदमा आएका हुन् । विरोध खतिवडालाई पराजित गरेर आएका बर्तौला पनि विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् ।