काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घ (अप्फा)ले किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी नेपाल सरकारको आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
ती सङ्घ–संस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी देशको दुईतिहाइ जनसङ्ख्या ओगट्ने र प्रमुख उत्पादक शक्तिको रूपमा रहेका किसानको जीवन परिवर्तन गर्ने गरी आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेका हुन् ।
ती संस्थाले मूल्यवृद्धि नियन्त्रण, कालोबजारी गर्नेहरूमाथि कडा कारबार्ही, उपभोक्ता र उत्पादक सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । किसानमुखी र जनमुखी मौद्रिक नीति जारी गरी कडाइका साथ लागू गर्नुपर्ने तथा नेपाल राष्ट्र बैंकको नीतिविपरीत ऋण प्रवाह र अन्य कार्य गर्ने सहकारी, लघुवित्त र तिनका सञ्चालकलाई कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।