काठमाडौँ । नेपाली कांग्रेसले गोंगबु बसपार्कमा सोमबार भएको लुटपाटको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसले संसदमा विशेष समय लिएर गोंगबुमा भएको मोबाइल पसल लुटपाटलगायत विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरेको हो ।
आज (बुधबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै कांग्रेसका प्रवक्ता समेत रहेका सांसद प्रकाशशरण महतले नयाँ बसपार्कमा भएको घटनाले गम्भीर बनाएको बताएका छन् । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले लिएको अवस्थामा भएको उक्त घटनाको छानबिन गर्न महतले माग गरे ।
‘नयाँ बसपार्कमा जुन किसिमको घटना घट्यो त्यसले हामी सबैलाई अत्यन्त गम्भीर बनाएको छ । प्रधानमन्त्री स्वयं सुरक्षा र गृह प्रशानसको नेतृत्वमा हुनुहुन्छ । साना व्यवसाय गरेर बसेका मोबाइल पसलहरूमा दिनदहाडै लुटपाट मच्चिएको छ ।
उनले भने, ‘यातायात मजदुरका जायज समस्याहरूको समाधान हुनुपर्छ । बसपार्क व्यवस्थित हुनुपर्छ । मिनिबस व्यवसायीहरूले नियमअनुसार पार्किङ सुविधाको प्रयोग गर्न पाउनु पर्छ । तर, मजदुरको नाउँमा को त्यहाँ प्रवेश गरेका छन् ? कसले प्रोत्साहित गरेको छ ? किन त्यस्तो भएको छ ? भिडियो फुटेज आउँदा पनि कुनै कारबाही हुँदैन ।’