वेस्ट बैंकमा इजरायली सेनाको आक्रमण : कम्तीमा ११ जनाको मृत्यु, दर्जनौं घाइते



वेस्ट बैंकमा इजरायली सुरक्षा बलले गरेको आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै ८० जना बढी घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले बताएका छन् । बुधबार बिहान इजरायली सुरक्षा बल पुरानो सहर नाब्लसमा प्रवेश गर्दा त्यहाँबाट विस्फोट र बन्दुकको आवाज सुनिएको थियो ।

इजरायलको सेनाले एउटा घरमा घुसेर त्यहाँ लुकेर बसेका तीनजना अतिवादीलाई मारेको समाचार एजेन्सीहरूले बताएका छन् । प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार ७२ वर्षीय अदनान साबे बारा, ६१ वर्षीय अब्दुल हादी अस्कर र १६ वर्षीय मोहम्मद शाबानको मृत्यु भएको हो ।


अर्का एक वृद्ध अमन शौकत अनबको बुधबार बिहान अश्रुग्यासबाट निसासिएर अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । चरमपन्थी संगठन लायन्स डेनले टेलिग्राम पोस्टमा आफ्ना र अन्य संगठनका छ जना सदस्य मारिएको बताएको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेहरुको पाँच अस्पतालमा उपचार भइरहेको जनाएको छ । इजरायली सेनाले गत महिना जेनिनमा पनि यस्तै आक्रमण गरेको थियो, जसमा १० जनाको मृत्यु भएको थियो । बीबीसी