कीर्तिपुर । काठमाडौंको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास ९होमस्टे०मार्फत किसिपिँढी गाउँले पर्यटन प्रवद्र्धन गरिरहेको छ ।
यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकाल अघि नै ‘किचः प्रिचिङ’ नामका आठ मुख्य द्रन्ध ९बस्ती० थिए भन्ने प्रमाणित हुन्छ । तीमध्ये किसिपिँढी एउटा हो । अहिले चन्द्रागिरि नगरपालिका–५ मा पर्ने ‘किचः प्रिचिङ’ले लिच्छविकालीन गौरवलाई पुनःप्राप्ती गर्ने उद्देश्यका साथ वडाध्यक्ष राजेन्द्र महर्जन सक्रिय रुपमा लाग्नुभएको छ । पुराना वस्तु खोज्ने तथा बस्तीभित्र नयाँ बन्ने संरचनालाई पुरातात्विक स्वरुप झल्किने गरी निर्माण गरिने उनले बताए ।
दुई सय ५० घर रहेको किसिपिँढी प्राचिन समयमा गढपर्खालले घेरिएको सुरक्षित र सम्पन्न बस्ती थियो । बस्तीतर्फ आउने बाटामा तेर्सिएका ढुङ्गा त्यसको प्रमाण हुन् । उक्त बाटोमा पाइने ढुङ्गे धारा, पोखरी, मन्दिर र काठका मूर्तिले किसिपिँढी एउटा मौलिक सभ्यता भएको राज्य थियो भन्ने कुराको प्रमाण दिन्छन् ।
किसिपिँढीबारे अध्ययन गर्नुभएका रवीन्द्र रिजालका अनुसार किसिपिँढीभित्र पाँच लिच्छविकालीन शिलालेख छन् । ती शिलालेखले तत्कालीन शासकले यहाँका जनतालाई जमिनको साधसीमा, जोतभोग र कर माफीमिनाहा गरेको तथा कुवा र देवल निर्माणबारे जानकारी पाइन्छ ।
“खासमा किचः प्रिचिङ किरातकालीन बस्ती हो । यो लिच्छविकालमा थप व्यवस्थित बनेको थियो”, उनले भने । मल्लकालमा जात्रा र पर्वको विकास भएको हो । राणाकालअघि घोडेजात्रालाई नयाँ वर्षको रूपमा मनाउने गरिन्थ्यो । किसिपिँढीमा घोडेजात्राको दिन कालिका भैरवको रथयात्रा हुने रिजाल बताउछन् ।
गढपर्खालले घेरिएको किसिपिँढी ब्यूउँताउने कामको सुरुआत गरिएको वडाध्यक्ष महर्जनले बताउनुभयो । ऐतिहासिक पक्ष गर्विलो भए पनि आधुनिकताको प्रभावले यस गाउँलाई ओझेलमा पारेको छ । विसं २०७२ को भूकम्पपछि पुरानै शैलीमा रहेका घर भत्किएपछि यहाँको प्राचीन संरचना नासिएको छ । नयाँ बन्ने संरचना पुरानै शैलीमा निर्माण गर्न खर्च बढी लाग्ने भएकाले स्थानीयवासी आधुनिक घर बनाउन सहज मान्छन् ।
“पुराना घरको एउटा झ्याल बनाउने खर्चले अहिलेको साढे दुईतले घरका झ्याल किन्न पुग्छ”, उनले भने । कङ्क्रिटको सहारामा आधुनिक शैलीमा बनाइएका घरका अगाडिका भाग दाची इँटा लगाएर केही हदसम्म भए पनि परम्परागत शैलीका बनाउने प्रयास भएको महर्जनको भनाइ छ ।
पुराना शैलीमा घर बनाउनेलाई केही अनुदान दिने विषयमा छलफल भइरहेको उनले बताए । कालिका भैरव मन्दिर दाची इँटा र कलात्मक झ्यालसहित पुरानो शैलीमा निर्माण भएको छ । वडाध्यक्ष महर्जनका अनुसार एउटा निजी घर पनि पुरानो शैलीमा बनेको छ । “यहाँका सबै घरका अघिल्लो भाग पुरातात्विक शैलीको बनाउने विषयमा गृहकार्य गरिरहेका छौँ, रकम अभावका कारण रोकिएको छ”, उनले भने ।