लामो समयपछिको वर्षाले इलामका किसान खुशी



इलाम । लामो समयपछि पानी परेपछि इलामका किसान खुशी भएका छन् । हिजो साँझदेखी रातिसम्म पानी परेकाले किसान खुशी भएका हुन् । असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो ।

पानी परेपछि अलैँची र चिया किसानले ठूलो राहत महसुस गरेका छन् । आलु, तोरी तथा तरकारी लगाएका किसानले पनि लामो समय पछिको वर्षाका कारण राहत महसुस गरेका गरे । किसान सन्तोष राईले पानी परेपछि अब तरकारी खेतीमा चिस्यान हुन पुगेकाले ठूलो राहत मिलेको बताए ।


उनले यो याममा पानी परेपछि फागुन अन्तिमदेखि नै चिया पलाउने र तोरी, गहुँलगायत बाली पनि सप्रिने बताए । लामो समयसम्म वर्षा नहुँदा जमिन सुक्खा भएकाले किसानले बारी खनजोत गर्न समेत पाएका थिएनन् । अब भने सहजरुपमा खनजोत गर्न पाइने यहाँका किसानको भनाइ थियो । पानी नपरेपछि खोलानाला सुक्दै गएका थिए । खोला खोल्सामा पानी नहुँदा सिंचाइमा समेत समस्या हुँदै आएको थियो । अब भने केही समयका लागि पाइप लगाएर सिचाइमा खट्नु नपर्ने किसानको भनाइ थियो ।

पानीले घाँस समेत छिटो पलाउने भएकाले यहाँका पशुपालक किसान समेत उत्साहित भएका छन् । तराईबाट सुख्खा पराल ल्याउनु पर्ने बाध्यता रहेकामा अहिले परेको पानीले समयमै घाँससमेत पलाउने उनीहरुको अपेक्षा थियो । सुख्खा नलागे वैशाखदेखि बर्खे घाँस काट्न पाइने अनुमान गरिएको छ ।