रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती



गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आएका छन् । कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिरहेका छन् ।

दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लागेका छन् । उनीहरुले अहिले दाजुभाइ कृषि तथा पशुपंक्षी फार्म दर्ता गरेर गोलभेँडा खेती गरिरहेका छन् । ज्ञवाली परिवारका छ जना खटेर गोलभेँडा खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गरेका छन् । उनको बारीबाट अहिले वार्षिक आठदेखि नौ सय क्विन्टल गोलभेँडा बिक्री हुँदै आएको छ । उनको फार्मबाट हाल प्रतिकिलो रु ७० देखि ७५ मा गोलभेँडा बिक्री हुन्छ । मूल्य घटबढ भए पनि गोलभेंडाको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताए ।


व्यवसायको सुरुआती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिकरुपमा रु एकदेखि दुई लाख खर्च कटाएर बचत हुने गरेको कमलले बताए । ‘हप्तामा तीनदेखि चार पटक गोलभेँडा गाडीमा बुटवल पठाउँछौँ, एक पटकमा एक लाख बराबरको जाने गर्दछ’, उनी भन्छन्, ‘खेतीमा परिवारका सबै सदस्य खट्छौँ, खर्च कटाएर पनि मासिक रु एक÷दुई लाख आम्दानी हुन्छ’, उनले भने । लगातार मेहनत गर्नेहरु व्यावसायिकरुपमा कृषिमा प्रेरित हुनुपर्ने कमलको भनाइ छ ।

दाजुभाइ कृषि फार्मलाई संरक्षित संरचनामा प्राङ्गारिक तरकारी उत्पादन कार्यक्रमका लागि गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा रु चार लाख सहयोग गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । उनले व्यावसायिक कृषिमा लागेर अरुलाई पनि उदाहारण दिन सक्नेलाई प्रोत्साहित गरिरहेको बताए ।

कृषि क्षेत्रमा परिवार सबै मिलेर खेती गरी उदाहरण दिँदै मनग्ये आम्दानी गरिरहेको कमल र कपिललाई कृषि ज्ञान केन्द्रले उत्कृष्ट कृषकमा छनोट गरी सम्मान गरेको थियो । साथै दाजु कमल २०७९ को संविधान दिवसको अवसरमा नेपाल सरकारबाट विकास रतन पदकबाट विभूषित समेत भएका थिए ।