काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार पोखराबाट काठमाडौँ आए लगत्तै प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।
सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुई नेताबीच करिब १ घण्टा भेटवार्ता भएको हो । छलफलमा फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचन बारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।
यसअघि प्रधनमन्त्री प्रचण्डसँग आइतबार बेलुकी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले भेटवार्ता गरेका थिए । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री प्रचण्ड नेता नेपालसँगको भेटवार्तापछि पार्टी पदाधिकारी बैठकमा सहभागी हुन कोटेश्वरस्थित पेरिसडाँडा पुगेका छन् ।