झापा । मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्किएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू सोमबार दिउँसो दमक आइपुगेका छन् । श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ २१ गते पूर्वी नाका काँकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्किएका हुन् । दुई दिनमा उनले करिब ५२ किलोमिटर यात्रा पूरा गरेका छन् ।
सामान्य खेतीपाती गरी आएका थारू दम्पती दैनिक २०–२५ किलोमिटर पैदल हिँड्ने अटोठका साथ यात्रामा निस्किएका हुन् । दमकमा भेटिएका पदयात्री थारूले विश्वशान्तिको कामना गर्दै आफूले दुई महिनाभित्रमा महाकाली पुगेर पदयात्रा समापन गर्ने लक्ष्य लिएको बताउँछन् । पूर्वपश्चिम राजमार्गमा उल्टो हिँडेर आफ्नो लक्ष्य पूरा गर्ने आत्मविश्वासमा छन् रुपना । उनी भन्छन्, ‘उल्टो हिँडेर लक्ष्यमा पुग्न आफैमा कठिन हो, तर पनि दुःखी भने बिल्कुल छैन ।’
पदयात्रा सुरक्षित बनाउन आफै होसियारी अपनाउन्छन् उनी । दिनभरि हिँडे पनि साँझ पर्नासाथ बाँस बस्ने बन्दोबस्ती गर्छन् थारू दम्पती । साँझ परेपछि राजमार्गमा सहजै हिँड्न सकिँदैन श्रीमानलाई बाटो देखाउँदै सुल्टो हिँडेर सहयोग गरिआएकी छन् । उनको यात्रालाई सहजीकरण गरिआएको श्रीमती सम्झनाको भनाइ छ ।
पदयात्री थारूका अनुसार पदयात्रा हिँड्दा धेरै कठिनाइ हुन्छ । बाटोमा जङ्गल समेत भएका हुँदा त्यस्ता ठाउँमा सुरक्षाको बन्दोबस्ती भए सहज हुने उनी बताउँछन् । नगरपालिकाले दिएको सिफारिस कागजपत्र देखाउँदै उनले दुई दिनमा राजमार्ग आसपासका ट्राफिक प्रहरीले भने सहयोग पुर्याएको अनुभव सुनाउँछन् । यसरी नै सहयोग पाए पक्कै पनि मेरो यात्रा सहज हुने उनको आत्मविश्वास छ ।
यात्राका क्रममा बाटो आसपासका प्रहरी कार्यालयले खानेबस्ने बन्दोबस्ती गरिआएको बताउँदै पदयात्री रुपना भन्छन्, ‘बाटोमा हिँड्दै गरेको बेला स्थानीयबाट समेत उत्तिकै सहयोग, सद्भाव पाएको छु, यस्तै सहयोग पाए आभारी हुने थिए ।’
पदयात्रा हरेक मानिसको आ–आफ्नो रहर भए पनि यस कार्य भने फरक भएको उनको बुझाइ छ । मेरो उद्देश्य सारा पृथ्वीजगतको कल्याणको छ, मनभरि यही कामना लिएर यात्रारत भएको उनले सुनाए । यात्रा काठमाडौं पुग्ने र त्यसपछि महाकाली फर्किने तय गरेको समेत उनी बताउँछन् । उल्टो हिँडेर पशुपतिनाथ मन्दिरको पहिलो पटक दर्शन गर्ने इच्छा भएको भन्दै उनले त्यसलगत्तै महाकालीसम्मको आफ्नो गन्तव्यमा लाग्ने योजना बताए ।
आफूले यात्राका क्रममा देखेकाभोगेका र विश्वशान्तिका सद्कर्मका बारेमा सामान्य भलाकुसारीसँगै अनुभव आदानप्रदान गरिआएका छन् । यो यात्राले मेरो जीवनलाई सतकर्ममा हिँड्न प्रेरणा दिने ठान्छन् । उनी भन्छन्, ‘पूर्वमेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको मेरो देशलाई विश्वभर चिनाउन उल्टो पदयात्राले विश्वभर चिनाउने आशा लिएको छु ।’