‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा



काठमाडौँ । हाँस्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिने भएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हाँस्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिए ।

यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आगामी चैत २ गतेदेखि सो कार्यक्रम प्रसारण हुनेछ । हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने सो कार्यक्रमको प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहने छन् ।


यसैगरी दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भूमिकामा देखिने छन् । कार्यक्रमको निर्देशन भने दिनेश डिसीले गर्नेछन् । नयाँ स्वरुपमा कमेडी क्लबमा जोडिन पाउँदा आफूलाई खुसी लागेको भन्दै नायिका कार्कीले पत्रकार सम्मेलनमा प्रसन्नता व्यक्त गरिन् । उनले स्वच्छ हाँस्य व्यङ्ग्यमार्फत आम जनमानसलाई सुसूचित हुने अवसर प्रदान गर्न लागिएको बताइन् ।