महोत्तरी । फागुन कृष्णपक्ष सुरु हुँदै महोत्तरीसहितका मिथिला क्षेत्रमा महाशिवरात्रि पर्व र मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु भएको छ । फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र त्यसलगत्तै फागुन औँसीसँगै प्रारम्भ गरिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) देखिएका हुन् ।
महाशिवरात्रि पर्वका लागि महोत्तरीका शिवालयमा अहिले उत्सवको तयारी देखिएको छ । जिल्लाको बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ, भङ्गाहा नगरपालिका–५ स्थित श्री सिद्धनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित श्रीमङ्गलनाथ, सम्सी गाउँपालिकाको गेढाभेटपुरस्थित श्री धष्नेश्वर र जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१ स्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा पर्वको तयारी अघि बढेको हो ।
यी शिवालयसँगै बर्दिबास–१४ स्थित श्रीकामेश्वरनाथ र भङ्गाहाको सीतापुर बजारस्थित श्री सन्तानेश्वर महादेव मन्दिरमा पनि महाशिवरात्रि पर्वका लागि रङरोगन, मेलास्थल व्यवस्थापन र सुरक्षा प्रबन्धको आवश्यक तयारी थालिएको माहशिवरात्री मेला व्यवस्थापन समितिले जनाएका छन् । मिथिलामा फागुन कृष्ण द्वादशीदेखि चतुर्दशीसम्म महाशिवरात्रि मेला आयोजना गरिने परम्परा छ ।
जलेश्वर–५ स्थित श्रीजलेश्वरनाथ जलभित्र समाधि लगाएर विराजमान शिवलिङ्ग आदिकालमा भगवान शङ्कर आफैँले स्थापित गर्नुभएको विश्वास गरिन्छ । ‘जलेश्वरो महालिङ्गो स्थापित श्रीशिवं स्वयं’ शिवपुराणमा वर्णित यो पङ्क्तिले नै श्री जलेश्वरनाथ अनादिकालमै स्थापना भएको शिवलिङ्ग मानिएको जलेश्वर–५ का बासिन्दा पूर्वीय दर्शन तथा साहित्यका अध्येता ध्रुव राय बताउँछन् ।
त्यसैगरी चुरे पर्वत श्रेणीको थुम्कोमा अवस्थित श्रीटुटेश्वरनाथ, रातु र बडहरी नदीको सङ्गमस्थित श्री सिद्धनाथ र श्री मङ्गलनाथ पनि अनादिकालमा स्थापित शिवलिङ्ग रहेका यहाँ विश्वास गरिन्छ । यसका अतिरिक्त बर्दिबास–३ राईमण्डल धार्मिक क्षेत्र अवस्थित श्री इन्द्रेश्वर महादेवको शिवलिङ्ग अघि सत्ययुगमा स्वर्गका राजा इन्द्रले दानवसँगको युद्धमा विजयी बन्ने वरदानका लागि शिवको तपस्या गरेका स्थान मानिन्छ ।
यी शिवालयमा प्रत्येक वर्षको फागुन कृष्णपक्षको महाशिवरात्रि पर्व र साउन महिनाभरि लाग्ने साउने ‘बोलबम’ मेला खास अवसरका उत्सव मानिन्छन् । अहिले महाशिवरात्रि नजिकिँदै गर्दा शिवालयको रङरोगन र साजसज्जा युद्धस्तरमा गरिँदैछ ।
यी शिवालयमा दुवै पर्व विशेषमा बर्सेनि मधेसका सबैजसो जिल्ला र छिमेकको भारतबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन भगवान् शङ्करलाई गाईको दूध, पवित्र नदी वा तलाउको जल, बेलपत्र र श्रीशिवका प्रिय मानिने धतुरोसहितका फल चढाउन पुग्ने गर्छन् । पर्वको यो अवसरमा आउने भक्तजनको आवास, भोजन र दर्शनको चाँजो मिलाउनसँगै शिवालयको रङरोगन, साजसज्जाका काम र मेलाका अन्य व्यवस्थापनका काममा स्वयंसेवक खटिरहेका छन् ।
महाशिवरात्रि पर्वमा शिवको दर्शन र आराधनाका लागि आउने भक्तजनलाई साँच्चै शिवधाम आइएछ भन्ने अनुभूति दिनेगरी अहिले तयारीका काममा लागिएको श्रीजलेश्वरनाथ महाशिवरात्रि मेला व्यवस्थापन समिति–२०७९ का अध्यक्ष रञ्जितकुमार चौधरी बताउँछन् । अहिले शिवालयको समुचित पर्व व्यवस्थापनमा सम्बद्ध स्थानीय तहले हरेक तरिकाले सहयोग गरेका शिवालयका महाशिवरात्रि मेला व्यवस्थापन समितिले जनाएका छन् ।
मिथिलामा महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै सुरु हुने फागुन शुक्लपक्षभरि मिथिला माध्यमिकी परिक्रमाको उत्सव मनाइन्छ । फागुन औँसीकै दिन प्रारम्भ भएर फागुन शुक्लपक्षभरि हुने मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहितमा एक सय ३० किलोमिटर वृत्तभित्र १५ ठाउँमा रात्रीवास गरेर रामसीताका भजन गाउँदै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने पुरानो परम्परा रहँदै आएको छ ।
अवधकिशोर (श्रीराम) र किशोरीजी (सीताजी) का प्रतीमा राखिएका डोला अघि लगाएर १५ दिन मिथिला क्षेत्रभित्रका तीर्थस्थलको दर्शन गर्दै नाङ्गा खुट्टाले पैदल हिँडेर गरिने यो यात्रा मिथिलाको महाकुम्भ मानिन्छ । फागुन पूर्णिमाका दिन यो यात्रा सम्पन्न गरेसँगै होलीका दहनको धुरा उडाएर (होलिका राक्षसीको आकृति डढाएर त्यसको खरानी उडाइने चलन) त्यसको भोलिपल्ट हिन्दू धर्मावलम्बीले फागु अर्थात् होली पर्व मनाउने छन् ।
मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित पाँच वटा रात्रि विश्रामस्थल रहँदै आएका छन् । त्यसैगरी धनुषामा छ रात्रि विश्राम र भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामको परम्परा रहँदै आएको छ ।
नेपाल र भारतका हजारौँ साधुसन्त सहभागी हुने यो मिथिलाको महाकुम्भमा परिक्रमाका यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपत्कालीन सेवाका लागि रात्रि विश्रामस्थल रहेका ठाउँमा मठमन्दिर व्यवस्थापन, सामाजिक सङ्घसंस्था, स्थानीय तह र व्यक्तिले स्वेच्छिक प्रबन्ध गर्ने गरेका छन् । माध्यमिकी परिक्रमाको संयोजन पछिल्ला दुई दशकयता विभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा बृहत्तर जनकपुर क्षेत्र विकास कोष (परिषद्) ले गर्दै आएको छ ।