कञ्चनपुर । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार (भोलि) स्थलगत अनुगमन गर्ने भएका छन् ।
सोमबार कञ्चनपुर आउन लागेका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र महाकाली करिडोरको अनुगमन गर्ने कार्यक्रम तय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।
‘प्रधानमन्त्री ज्यूको यहाँ निर्माणाधीन योजनाको अनुगमनका साथै दिउँसो महेन्द्रनगरमा आयोजित महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ’, प्रजिअ अर्यालले भने, ‘भोलि नै जनयुद्ध दिवसको अवसरमा पनि यहाँ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।’ त्यसैगरी दिउँसो प्रधानमन्त्री दाहालले यहाँ कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन गइरहेको १४औं सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ ।
कोरोना कहरको दुई वर्षपछि यहाँ हुन लागेको पर्यटन महोत्सव उद्घाटन प्रधानमन्त्रीबाट हुने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले जानकारी दिए । उनका अनुसार ‘कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । त्यसैगरी सुदूरपश्चिमको कला, संस्कृति संरक्षणका लागि सांगीतिक कार्यक्रमका साथै देउडा प्रतियोगिता समेत महोत्सवमा सञ्चालन हुनेछ ।
महोत्सवमा स्थानीय उत्पादन, बाल उद्यान, खाद्य तथा होटलका स्टल रहने छन् । वाणिज्य सङ्घले यहाँ विसं २०५७ देखि महोत्सव आयोजना गर्दै आएको बताउँदै मल्लले मेलालाई एक लाख सर्वसाधारणले अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिए । ‘महोत्सवमा रु पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य छ’, उनले भने, ‘स्थानीय बस्तुभाउ प्रवर्द्धन, पर्यटन तथा कला संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गरिएको हो ।’