पाकिस्तानमा आर्थिक संकट : प्रधानमन्त्री र मन्त्रीले तलब नलिने



काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले बुधवार राति सरकारी खर्च कटौतीको ठूलो घोषणा गरेका छन् ।
केबल ३ अर्ब डलर मात्रै विदेशी मुद्रा सञ्चित रहेपछि टाट पल्टिने बिन्दुमा पुगिसकेको देशलाई बचाउन त्यहाँका प्रधानमन्त्रीले अन्तिम पहल थालेका हुन् । प्रधानमन्त्री शाहबाज शरिफले बुधवार राति सरकारी खर्चमा व्यापक कटौतीसम्बन्धी घोषणा गरेका छन् ।

‘मसहित मन्त्रिपरिषद्का सबै मन्त्रीहरुले तलब लिने छैनौं । तमाम केन्द्रीय मन्त्री बिजुली, पानी, ग्यास र टेलिफोनको बिल गोजीबाट भर्नेछन्’, उनले घोषणामा भनेका छन् । शरिफका अनुसार मन्त्रीहरुसँग रहेका सबै लग्जरी गाडी पनि लिलाम गरिनेछ । सर्वोच्च अदालत , उच्च अदालत र कर्मचारी क्षेत्रलाई पनि खर्च कटौतीका लागि सरकारले अपिल गरेको छ ।


अचम्म लाग्दो कुरा भने प्रधानमन्त्री शरिफले पाकिस्तान स्वतन्त्र भएयता अहिलेसम्मको ७६ वर्षमा आधा समय देशको शासन चलाएको सेनाको खर्च कटतीबारे केही पनि बोलेका छैनन् । पाकिस्तानी सेनासँग देशको अर्बौ बजेट रहेको छ । प्रधानमन्त्री शरिफले क्याबिनेटका सदस्यहरुलाई राखेर पत्रकार सम्मेलन गरेका थिए ।

‘अन्तर्राष्ट्रिय मुद्रा कोषको शर्त पूरा गर्नका लागि सरकारी खर्चमा ठूलो कटौती गरिँदैछ’, उनले भने, ’यो आमजनताका लागि पनि सन्देश हो । यो खर्चमा कमी गर्ने एक उपाय हो ।’ शरिफले सरकारको खर्च कम गर्न करदाताको लाखौँ रुपैयाँ बचाउने योजना पनि सुनाए। यसका लागि तमाम कदम उठाइने उनले जानकारी दिए । शरिफले कसैको दबाबमा नपरी आफूले यो निर्णय गरेको पनि बताएका छन् । एजेन्सी