गोंगबुमा मोबाइल पसल लुटपाट र आगजनीमा संलग्न ९ जना पक्राउ



काठमाडौँ । प्रहरीले गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गर्ने नौजनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मोबाइल पसल लुटपाट र आगजनीमा संलग्नमध्ये नौजनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

प्रहरीकाअनुसार ५ जना प्रहरीको गाडी जलाउने काममा संलग्न छन् भने चार जना मोबाइल पसल लुटमा संलग्न रहेका छन् ।


पक्राउ पर्नेमा उदयपुरको बलम्ता गाउँपालिका २ घर भई तार्केश्वर नगरपालिका १०, मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घर भई टोखा नगरपालिका ३ बानियाटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङको बेँसीसहर नगरपालिका ५ घर भई तार्केश्वर नगरपालिका १० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन् ।

त्यस्तै, त्यसैगरी प्रहरीले काभ्रेको मानेडाँडा घर भई हाल ठमेल बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठानको कडी गाउँपालिका १ घर भई गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १६ गंगाहल बस्ने २० वर्षीय आशीष खड्कालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालका फुटेजहरुका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फागुन १ गते काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकस्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायहरूले ट्राफिक कारवाही लगायत विषयमा विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा गाडी जलाउने पनि समातिएका छन् ।

त्यसक्रममा प्रहरी वृत्त बालाजुबाट सुरक्षामा खटिएका प्रहरी बोकेका बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी जलाइएको थियो । उक्त घटनाका क्रममा गाडीभित्रको मोटोरेला बेस सेट एक थान, फायर स्ट्रिङ्गुइजर एक थान, मेगा फोन एक थानसहित अरु सामन पूरै जलेका थिए ।

त्यस्तै बा १ झ ७२२४ नम्बरको माज्दा गाडीभित्रको हाइटेरा बेस सेट १ थान, फायर स्ट्रिङ्गुइजर एक थान र मेगाफोन थानसहित जलेर नष्ट भएका छन् । प्रदर्शनकारीले माछापोखरी प्रहरी बिटमा समेत ढुङ्गामुढा र आगजनी गरेका थिए।

त्यसक्रममा बिटभित्रको हाइटेरा ह्याण्ड सेट चार्जर २ थान र त्यसको दुई थान ब्याट्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थपिएको प्रहरीले जनाएको छ।