गोंगबुकाे ल्होत्से मलमा लुटपाट गर्ने थप १५ जना पक्राउ



काठमाडौँ । गोंगबुमा तोडफोड र लुटपाट गर्ने थप १५ जनलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले बताए । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु र महाराजगञ्ज पठाइएको उनले बताए ।


अनुसन्धान कार्यालयले पक्राउ गरेका १५ जना ल्होत्से मलमा तोडफोड र लुटपाटमा संलग्न रहेका मुख्य व्यक्ति हुन्। उनीहरुलाई भिडिओका आधारमा पहिचान गरेर पक्राउ गरेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए।पक्राउ पर्नेमा काभ्रेको पाँचखालका १९ वर्षीय सुरज मगर, नुवाकोटको सूर्यगढ ४ का १९ वर्षीय केशर राई, सिन्धुलीको सिन्धुली गढी ६ का १८ वर्षीय इन्द्र तामाङ रहेका छन्। उनीहरु तिनै जना सहचालक हुन्।

गत सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्ड तोडफोड तथा आगजनी गरेको आरोपमा यसअघि ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । योसहित हालसम्म उक्त घटनामा संलग्न १८ जना पक्राउ परिसकेका छन् ।