गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका छन् ।

गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिम क्षेत्रका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्व सांसद, मन्त्री, विषय विशेषज्ञ, सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।


छलफलका क्रममा प्रधानमन्त्रीले विकास आयोजनाहरुको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको जानकारी दिए ।
“मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको थिएँ” उनले भने, “गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो ।”

गेटा मेडिकल कलेजको पूर्वाधार निर्माण लगायतका कामहरु समेत प्रचण्ड पहिलो र दोश्रोपटक प्रधानमन्त्री भएको बेला अघि बढेका थिए ।