बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले उपल्लो तहमा सिफारिस गरिसकेको छ । बालमैत्री नगर घोषणासँगै जिल्लाको १० पालिकामध्ये पहिलो बालमैत्री पालिका गलकोट हुनेछ ।
नगरपालिकाले यही फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ । गलकोटले बालमैत्री नगरपालिका घोषणाका लागि २०७७ मङ्सिरबाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र अभिमुखीकरणलगायतका काम थालेको थियो ।
नगरपालिकाले दुई वर्षदेखि ११ वडामै सहजकर्ता र एक अधिकृतस्तरको कर्मचारीसमेत खटाएको थियो । नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेर प्रमाणीकरणका लागि जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।
‘नगरपालिकाले दुई वर्षदेखि अथक प्रयास गरेर नगरलाई बालमैत्री नगरपालिका घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचक पूरा गरेका छौं’, उनले भने, ‘स्वास्थ्यका सबै सूचकामा शतप्रतिशत नतिजा हासिल भइसकेको छ, शिक्षा, खानेपानी, बालविवाह, मालमैत्री संरचना, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन भइरहेको छ, केही पुराना संरचना बालमैत्री छैनन्, सुधार गर्न सक्नेलाई बालमैत्री बनाइयो, नगरपालिकाले नयाँ निर्माण गर्ने संरचना बालमैत्री बन्ने गरी नक्सा पास गर्ने गरेको छ, बालविवाह अन्त्यका लागि सेचतनामूलक कार्यक्रम गरिरहेका छौँ ।’