खत्याड गाउँपालिकासँग कर्णाली करिडोर जोडिँदै



मुगु । कर्णाली नदीमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेसँगै कर्णाली करिडोर मुगुको खत्याड गाउँपालिकासँग जोडिने भएको छ । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदीमा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेसँगै खत्याड गाउँपालिका र कर्णाली करिडोरको सडक सम्बन्ध जोडिने भएको हो ।

सो गाउँपालिका र कर्णाली प्रदेश सरकारको करिब रु तीन करोड ३५ लाख रुपैयाँ लगानीमा कर्णाली नदीमा ६० मिटरको बेलिब्रिज निर्माण कार्य तीव्र गतिमा भईरहेको छ । पुल निर्माणको ठेक्का लिएको जल्पा/रविचक्र जेभीले फागुन पहिलो साताभित्र काम सक्ने गरी निर्माणलाई तीव्रता दिएको छ ।


पुल निर्माण भए बाह्रै महिना यातायात सञ्चालन हुने र आसपासका दर्जन गाउँका बासिन्दालाई सुविधा पुग्ने स्थानीय कमल शाहीले बताए । पुल बनेपछि गाउँसँग सहरी क्षेत्रहरू जोड्न सजिलो हुने नरहरिनाथ गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले बताए । सुकाढिक झुगलादेखि निमालबोटसम्म सडक निर्माण भइसकेको छ । पुल बनेपछि कर्णाली करिडोरबाट आएका सवारीसाधन रातापानी, गम्था हुँदै निमालबोटसम्म पुग्नेछन् ।