केरा खेतीमा जमेका ‘पूर्ण’



महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउदले विगत अढाई दशकदेखि केरा खेती गरिरहेका छन् । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक रु ९० लाख बराबरको कारोबार रहेको छ।

आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन/चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहेका साउदले केराबाट वार्षिक रु पाँचदेखि सात लाख बचत गरिरहेको बताए । ‘सबै खर्च कटाएर रु पाँच/सात लाख बचत हुन्छ’, उनले भने, ‘कमाईको रकमले छोराछोरी पढाउनेदेखि सम्पत्ति जोड्ने काम भयो ।’


उनले तिल्केनी क्षेत्रका करिब डेढ सय किसान केरा खेतीमा संलग्न रहेको बताए । प्रतिबिघा रु ५० हजार भाडा तिर्दै आएका साउदले केरा खेतीबाटै जीविका चलेको बताए। पछिल्लो समय कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान घर निर्माण भइसकेको छ । ‘कृषिबाट रु ४९ लाख र बाँकी सहकारीबाट लगानी गरेर चिस्यान घर निर्माण गरेका छौँ’, सहकारीका अध्यक्षसमेत रहेका साउदले भने, ‘केरा खेतीबाट धेरै स्थानीयवासीलाई ज्याला मजदुरीको काम मिलेको छ ।’

विसं २०५४ देखि केरा खेती गरिरहेका साउदले सहकारीमार्फत भीमदत्त नगरपालिका–९, १० र ३ मा केरा खेती र बाख्रा पालन लगायतका आयमूलक व्यवसाय सञ्चालन गरिरहेको बताए । ‘भारतीय केरा आयात हुँदा स्थानीय उत्पादन खपतमा समस्या भयो’, उनले भने, ‘स्थानीय उत्पादनलाई बजारको समस्या हल गर्न सरोकारवाला निकायले पनि पहल गरिदिनुपर्छ ।’

उनले केरा व्यवसायमा नौ जनालाई रोजगारीसमेत दिएको बताए। दुई वर्षअघि मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमअन्तर्गत पनि किसानलाई धेरै सहुलियत मिलेको बताए। ‘मुख्यमन्त्री नमुना कृषि कार्यक्रमले यहाँ थोपा सिँचाइ, ढुवानीका लागि सवारी साधन खरिद, केराका बिरुवा तथा सिँचाइ कार्यक्रममा सहयोग भयो’, उनले भने, ‘यहाँ छुट्टै समिति बनाएर यो कार्यक्रम यहाँका चार वडामा लागू भएको थियो ।’

उनले उत्पादित केरा सुदूरपश्चिमका नौ वटै जिल्लाका साथै अन्य क्षेत्रमा समेत व्यापारीमार्फत निर्यात हुने गरेको जानकारी दिए । त्यसै गरी कृष्णपुर नगरपालिका–५ का अर्जुन जेठाराले ११ बिघा जमिनमा केरा खेती गरिरहेका छन् । विसं २०६४ देखि केरा खेतीमा सक्रिय जेठाराले केराबाट वार्षिक रु १० लाख मुनाफा हुने गरेको बताए ।

‘दुई वर्षयता सुदूरपश्चिममा केराको उत्पादन धेरै हुँदा बजारको समस्या हुने अवस्था छ’, उनले भने, ‘यहाँ उत्पादित केरा खपतका लागि बजार सानो भयो।’कृष्णपुरमा ३० बिघा जमिनमा विगतमा केरा खेती गरेका जेठाराले जमिन राम्रो नपर्दा घटाएको बताए । ‘केरा खेती फेरि बढाउने योजना अनुसार जमिन भाडामा खोजिरहेको छु’, उनले भने, ‘अहिले १० बिघाप्रति बिघा रु ५५ हजारका दरले भाडामा लिएर खेती गरेको छु।’ कृषि ज्ञान केन्द्रबाट केरा खेतीका बेला बीउ बिजनलगायत सामान्य अनुदान पाएको उनको भनाइ छ ।