काठमाडौँ । काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सडकमै बसहरु तेस्र्याएर शुरु गरेको आन्दोलन उग्र बन्दै गएको छ । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाई दिएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरेपछि झडपको अवस्था सिर्जना भई प्रदर्शन उग्र बन्दै गएको हो ।
मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले चक्रपथका विभिन्न खण्डमा सडकमै गाडी रोकेर प्रदर्शन गरेका छन् । यातायात खुलाउन प्रयास गरेको प्रहरी र यातायात मजदुरबीच झडप हुँदा चक्रपथको बालाजु बाइपास खण्डमा रणमैदानमा परिणत भएको छ ।
सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीमाथि मजदुरहरूले इँटा र ढुंगा प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज र अश्रूग्याँस प्रहार गरेको छ । काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।