कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छः प्रकाशमान सिंह



काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । शुक्रबार नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् ।

उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक रहेको बताए । ‘सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छाैं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,’ सिंहले भने ।


राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला सिंहको दाबीलाई अर्थपूर्ण ठानिएको छ । उनले कांग्रेसबाट को राष्ट्रपतिको उम्मेदवार बन्ने भन्नेबारेमा चाहिँ केही बोलेनन् ।

पुस १० को सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबा गरिरहेका छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ । नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताए ।

उनले संविधानले दिएको अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए । कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहको भनाई थियो ।

‘जादूको छडी त कोहीसँग छैन । अहिलेका व्यवस्थालाई संस्थागत गर्न नेपालको राजनीति केन्द्रीत भइरहेको हामीले मनन् गर्नुपर्छ’ सिंहले भने, ‘आलोचना गर्नु राम्रो कुरा हो । असन्तुष्ट हुँदै गर्दा सन्तुष्ट हुनलाई के हुनुपर्छ पनि त भन्नुपर्याे ।’ उनले संघीय संसदले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि बताए ।