काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको बताएका छन् ।
आज (बुधबार) को प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको बताएका हुन् ।
पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई सुपर प्रधानमन्त्रीको संज्ञा दिएका छन् । ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपर प्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको उनले आरोप लगाएका हुन् ।
उनले ओलीले सुपर प्रधानमन्त्री ठानेर फुर्ति प्रस्तुत गरिरहेको भन्दै तत्कालीन ओली सरकारमा भएको संसद विघटन कायरता भएको उल्लेख गरे । उनले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको बताएका छन् ।
उनले भने,‘बास्तवमा संसद् विघटन कायरता थियो । त्यो कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको छ । तर, म चूनौति दिन चाहन्छु–अब कायरता दोहोरिन दिईने छैन् । संसद्कै रोष्ट्रमबाट सर्वोच्च अदालत मानिलिउँ, आफ्नो पार्टीको विभाग हो जस्तैगरि लल्कार्ने परिस्थिति देखिएको छ । त्यसले अदालतप्रतिको अनि कानूनप्रतिको निष्ठा कति झल्किन्छ ? सँगसँगै संसद् विघटनको भोक र सनक नमेटिएको पाईयो । यो संसद् पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ ।’