इयुद्वारा भूकम्प प्रभावित टर्किका लागि ३६ उद्धार टोली परिचालन



युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित टर्कीमा ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन्।

भूकम्पबाट उत्पन्न सङ्कट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले सो कदम चालिएको बताएका हुन् । टोलीमा करिब १ हजार ५ सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै एक सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको बताइएको छ ।


इयु सुरक्षा टोलीहरू पनि समन्वयमा सहयोग गर्न खटाइएका उनले बताए । सोमबार देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प गएपछि टर्कीले इयु नागरिक सुरक्षा संयन्त्र सक्रिय बनाएको छ ।

यस किसिमको समूह युरोप र बाहिरका कुनै पनि देशका लागि आवश्यक उद्धारका लागि तयार गरिएको हो । टर्कीको दक्षिणी प्रान्त हाते र सिरियाको उत्तरी शहर एलेप्पोमा सबैभन्दा ठूलो जनधनको क्षति भएको छ ।

लेबनान, इजरायल र साइप्रसले पनि भूकम्पको धक्का महसुस गरेका छन् । इयुले भूकम्प प्रभावित देशहरूमा राहत र उद्धारको कामलाई तीव्रता दिएको जनाएको छ ।