अमेरिकाले आफ्नो आकाशमा उडिरहेको अर्को एउटा नचिनिएको मानवरहित वस्तुलाई खसालेको छ। अमेरिकाले यसै महिनाभित्र गरेको यस्तो खालको यो चौथो सैन्य कारबाही हो ।
राष्ट्रपति जो बाइडेनले आइतबार दिउँसो क्यानडाको सिमाना नजिक पर्ने ह्युरन तालमा त्यो उडिरहेको वस्तु खसाल्न आदेश दिएका थिए ।
पेन्टागनको वक्तव्यमा त्यो अज्ञात वस्तुले २० हजार फिट उचाइमा यात्रा गर्दा व्यावसायिक हवाई उडानलाई असहज बनाएको हुनसक्ने जनाएको छ ।
उसका अनुसार त्यो वस्तुलाई शनिबार पहिलो पटक मोन्टनाका संवेदनशील क्षेत्रमाथि उडिरहेको पत्ता लगाइएको थियो । त्यसलाई रक्षा अधिकारीहरूले मानवरहित, अष्टभुज आकारको र सैन्य खतरा नभएको वस्तुका रूपमा वर्णन गरेका छन् ।
उक्त वस्तुलाई एफ–१६ लडाकु विमानले त्यहाँको समयअनुसार आइतबार दिउँसो २ बजेर ४२ मिनेटमा खसालेको हो ।
यो घटनाले उत्तर अमेरिकामा यसै महिनाभित्र खसालिएका निकै माथिको उचाइमा उडाइएका वस्तुहरूबारे थप प्रश्नहरू खडा भएका छन् । अमेरिकी महाद्वीपमा धेरै दिन घुमिसकेपछि एउटा सन्दिग्ध जासुसी बलुनलाई साउथ क्यारोलाइनाको तटमा फेब्रुअरी ४ मा पहिलो पटक खसालिएको थियो ।
अधिकारीहरूले पछि त्यो चीनमा बनाइएको र जासुसीका लागि प्रयोग गरिएको बताएका थिए । तर चीनले उक्त वस्तुलाई जासुसीका लागि प्रयोग गरिएको अस्वीकार गर्दै त्यो मौसम अनुगमन गर्ने उपकरण भएको बताएको थियो उक्त घटना र त्यसपछिका तनावपूर्ण आरोप प्रत्यारोपले वाशिङ्टन र बेइजिङबीच तनाव बढाएको छ ।
त्यसपछि अमेरिकी लडाकु जेट विमानहरूले थप तीनवट उच्च उचाइमा देखा परेका उस्तै खाले वस्तुहरू खसालेका छन् । शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले अलास्कामा एउटा वस्तुलाई खसाल्न आदेश दिएका थिए ।
शनिबार उत्तर–पश्चिमी क्यानडामा त्यस्तै वस्तुलाई खसालिएको थियो । अधिकारीहरूले यी वस्तुहरू कहाँबाट आएका थिए वा ती वस्तुको उद्देश्य के थियो भन्ने कुरा पहिचान गरिएको सार्वजनिक रूपमा बताएका छैनन् ।
अमेरिका र क्यानडा दुवैले अहिले पनि ती वस्तुका अवशेषहरू प्राप्त गर्नका लागि काम गरिरहेका छन् तर अलास्कामा खोजीका लागि त्यहाँको मौसमी अवस्थाले साथ दिएको छैन ।