अपाङ्गता भएका बालबालिकाको उपचार गर्दै नगरपालिका



जाजरकोट । आर्थिक रुपमा कमजोर भई आफैँ उपचार गर्न नसक्ने अपाङ्गता, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार सुरु गरेको छ ।

पहिलो चरणमा पालिकाले नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका सातजना विद्यार्थीलाई बनेपा अस्पतालमा उपचार सुरु गर्न लागिएको नगरप्रमुख डम्बरबहादुर रावतले जानकारी दिए ।


दोस्रो चरणमा पालिकाभित्रका सबै शारीरिक अशक्त तथा असहाय बालबालिकालाई दल्लीमा शिविर सञ्चालन गरेर उपचार गरिने उनले जानकारी दिए । उनका अनुसार यहाँ उपचार सम्भव नभएकालाई बाहिर उपचार गरिने छ ।

“अहिले नगरपालिकाभित्रका सबै वडामा शारीरिक अशक्त तथा असहाय बालबालिकाको खोजी भइरहेको छ”, उनले भने ।

वडाध्यक्षलगायत अन्य सरोकारवाला निकायको पहलमा खोजी गरी फागुन १४ मा शिविर सञ्चालन गर्ने योजना रहेको पालिकाले जनाएको छ । नगरप्रमुख रावतले भने, “दल्लीमा उपचार सम्भव नभएकालाई बाहिर लगेर पूर्ण रुपमा उपचार गर्ने योजना अनुरुप काम भइरहेको छ ।”

पहिलो चरणमा उपचार गर्नेको प्रदेशस्थित अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापना केन्द्र वीरेन्द्रनगर सुर्खेतबाट सिफारिस गरी बनेपा अस्पतालमा लगिएको उनले जानकारी दिए । नगरपालिकाको यो अभियानले आर्थिक रुपमा पछि परी वषौँदेखि उपचार नपाएका बालबालिका तथा अभिभावक खुसी भएका छन् ।

यसअघि नगरपालिकाले आर्थिक कमजोर भएका परिवारलाई जटिल प्रकृतिको रोग लागेमा उपचारका लागि आर्थिक सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

नगरपालिकाको पहलमा अहिले पालिकास्तरमै आँखाको उपचार सेवा समेत सुरु भएको छ । आँखाको उपचार गर्न सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य भएसँगै यहाँका सर्वसाधारण घर, आँगनमै आँखाको जाँच गरी सेवा लिइरहेका छन् ।