हरेक दिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी



हरेक दिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी हुने गरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारका अनुसार टाट पल्टेको अफगानिस्तानको अर्थतन्त्रलाई अझ खराब हुन नदिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी हुने गरेको हो ।

पाकिस्तानको मुद्रा सटही कम्पनी संघका महासचिव मुहम्मद जफार पराचाले बताएअनुसार व्यापारी र तस्करहरुले दैनिक ५० लाख डलर सीमा कटाउने गरेका छन् । यो रकम अफगानिस्तानको केन्द्रिय बैंकले बजारमा प्रवाह गर्ने कुल रकमभन्दा धेरै हुने जनाइएको छ ।


अफगानिस्तानको केन्द्रिय बैंकले साताको १ करोड ७० लाख डलर बजारमा प्रवाह गर्दै आएको छ ।सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानले पश्चिमा मुलुकले लगाएको नाकाबन्दीको सामना गरिरहेको छ ।पाकिस्तानबाट तस्करी हुने ठूलो परिमाणको विदेशी रकमबाट तालिबानले नाकाबन्दीको हल निकालेको विश्लेषण गरिएको छ ।

अफगानिस्तानतर्फ ठूलो परिमाणमा विदेशी मुद्रा तस्करी हुँदा यसले पाकिस्तानको सञ्चितीमा समेत असर परेको विश्लेषण गरिएको छ ।‘कुनै शंकाबिना मुद्रा तस्करी भइरहेको छ । यो अहिले धेरै नाफामूलक व्यवसाय बन्न पुगेको छ ।’ महासचिव पराचाले भने ।यसबाट अफगान पाक सीमा क्षेत्रमा कालोबजारी समेत मौलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।