राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताएका छन् । युक्रेनमा आक्रमण सुरु भएको एक वर्षपछि उनले हतियार उत्पादन बढाउने वाचा गरेको ।
‘डिफेन्डर अफ द फादरल्याण्ड डे’ का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले आधुनिक, कुशल स्थल र नौसेना देशको सुरक्षा र सार्वभौमसत्ता प्रत्याभूत गर्ने शक्ति भएको उल्लेख गर्दै देशको राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिशिचत हुने बताए ।
देशको प्रतिरक्षा क्षमता विस्तारलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले सशस्त्र सेनाका सबै डफ्फाको सन्तुलित विकास गरी सञ्चार उपकरण, ड्रोन र तोपखाना प्रणालीलाई अझ सुदृढ तुल्याएर सञ्चालन गर्ने बताए। “अब हाम्रो उद्योगले परम्परागत हतियारको सम्पूर्ण दायराको उत्पादन द्रुत गतिमा बढाउँनेछ,” उनले भने ।
राष्ट्रपति पुटिनले युक्रेनमा साहसपूर्वक लडिरहेका फौजको प्रशंसा गर्दै मुलुकको ऐतिहासिक भूमिमा जनताको रक्षा गर्ने सैनिक अटुट एकताका सूत्र हुन् भन्नुभयो । एकता नै विजयको द्योतक हुने उनले बताए । राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन् ।