सुनखानीमा पहिरोमा पुरिएर बुर्किना फासोमा १० जनाको मृत्यु



पश्चिमी बुर्किना फासोमा रहेको अस्थायी सुनखानी भत्किँदा १० जनाको मृत्यु भएको छ । बुकिना फासोको खानी व्यवसायी सङ्घका अनुसार बिहीबार दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान उनीहरू खानीमा काम गरिरहेको समयमा खानीभित्र पहिरो जाँदा उनीहरू खानीमा फसेका थिए ।

स्थानीय सुन खानी व्यवसायी सङ्घका अधिकारी अबासे डेर्राका अनुसार हाउन्डे सहर नजिकैको खानीमा उनीहरू फसेका थिए । खानीमा काम गरिरहेका कामदारमध्ये अझै केहीलाई जीवित उद्धार गर्न सकिने विश्वाससहित थप श्रमिकको उद्धार प्रयास जारी रहेको छ ।


“अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ,” सङ्घका एक सदस्य मौसा ओएड्राओगोले भने । बुर्किना फासोमा १७ वटा औद्योगिक खानीले प्रतिवर्ष करिब ७० टन उत्पादन गर्ने गरेको छ ।

यहाँबाट युरोप, अमेरिका, चीनलगायतका विश्वका विभिन्न गन्तव्यमा सुन निर्यात हुनेगर्छ । खानी मन्त्रालयका अनुसार अनौपचारिक खानीले हरेक वर्ष १० टन सुन उत्पादन गर्छ भने करिब १५ लाख मानिसलाई रोजगारी दिन्छ ।