संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता



काठमाडौँ । प्रतिनिधिसभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज उक्त विधेयक संसदमा दर्ता गराएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी कार्यविधि तथा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । विधेयकमार्फत् मुख्यगरी परिषद्को बैठकसम्बन्धी कार्यविधिमा संशोधन गर्न लागिएको छ ।


संवैधानिक परिषद्को निर्णय प्रक्रिया र गणपूरक संख्यामा संशोधन प्रस्ताव गरिएको छ । संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित भएमा परिषद् बैठकको गणपूरक संख्या मानिनेछ भन्ने व्यवस्था राख्न प्रस्ताव गरिएको छ । यसअघि अध्यक्ष र कम्तीमा चार जना अन्य सदस्यहरू उपस्थित भएमा परिषद्को लागि गणपूरक संख्या पुगेको मानिनेछ भन्ने व्यवस्था रहेको थियो ।

त्यस्तै, संवैधानिक परिषद्को बैठकका निर्णयमा सहमति कायम हुन नसकेका अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा पचास प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सकिनेछ भन्ने व्यवस्था पनि विधेयकमा राखिएको छ ।