शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी



देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित गर्न सम्भव भएको बताएका छन् ।

नेपालका प्रथम शहीद लखन थापाको १४६ औँ स्मृति दिवसको अवसरमा आज उनको पूर्णकदको शालिक अनावरण गरेपछि मुख्यमन्त्री गिरीले शहीदले देश र जनताको उत्थानका लागि निस्वार्थ ज्यानको बलिदानी दिएका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । 


मगर सङ्घ दाङले आज आयोजना गरेको सो कार्यक्रममा मुख्यमन्त्री गिरीले तत्कालीन समयमा पनि मुलुकको राजनीतिक, सामाजिक परिवर्तनका लागि अन्याय अत्याचारका विरुद्ध बलिदानी दिएका लखन थापाको साहस नै परिवर्तनको प्रेरणाको स्रोत भएको उल्लेख गरे ।

उनले शहीद थापाको बलिदानीको प्रेरणाबाट पाठ सिक्दै जहाँनियाँ राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्रजस्ता व्यवस्था फाल्दै जनताको शासन चल्ने संघीय लोकतान्त्रिक गणतन्त्रसहितको व्यवस्था स्थापना गर्न सकिएको बताए । लखन थापाले नेपाल र नेपाली जनताको न्याय र स्वतन्त्रताको लागि युगौँ युगसम्म सम्झन लायक काम गरेको हुँदा राज्यले सम्मान गरेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले शहीदको सपना पूरा गर्न सबैको ध्यान जान आवश्यक रहेको बताए । मुलुकको उन्नति र विकासका लागि जीउज्यानको बाजी लगाउने शहीदकै कारण अहिलेको व्यवस्था स्थापना भएको बताउँदै उनले शहीदलाई राज्यले साझा सम्पत्तिका रुपमा ग्रहण गर्न सक्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले देशको रक्षा गर्न अत्याचारका विरुद्ध लड्नुर्छ, सहनु हुँदैन भन्ने सन्देश दिनुहुने लखन थापाबाट अहिलेको समाजले शिक्षा लिन आवश्यक रहेको बताए । उनले देखाएको बाटो र योगदानले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र पाएको हुँदा देश र जनताको समृद्धिका लागि तीनवटै सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको प्रमुख चौधरीले स्पष्ट पारे । उनले लखनपार्कले शहीदको सम्मान मात्रै होइन, घोराही बजारको सौन्दर्यता कायम गर्न मद्दत गरेको बताए ।

विसं २०७४ मा पहिलोपटक निर्वाचित भएर आएपछि तत्कालीन त्रिभुवन पार्कलाई लखन पार्क बनाउने संस्थागत निर्णय गरी यसको विकासका लागि माथिल्लो तहमा पहल गरेको चौधरीले जानकारी दिए । नेपाल सरकारबाट २०७२ असोज ३ गते थापालाई नेपालको प्रथम शहीद घोषणा गरिएको थियो । विसं २०७३ बाट नेपाल सरकारले हुलाक टिकट प्रकाशन भएको छ ।

सोही अवसरमा पार्क निर्माण समिति संयोजक खलु पुनमगरले लखन पार्कमा पूर्णकदको शालिक निर्माण तथा सजावटका लागि लुम्बिनी प्रदेश सरकारको पर्यटन कार्यालयबाट १५ लाख, घोराही उपमहानगरबाट दुई लाख, क्यारी निर्माणका लागि वडा नम्बर १४ बाट रु एक लाख ५० हजार तथा दर्जनौँ सहयोगी र दाताबाट संकलन भएको रकमले काम गरिएको जानकारी गराए। सङ्घका वरिष्ठ उपाध्यक्ष मुक्तबहादुर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव नरेन्द्र बुढामगरले गरेका थिए ।