विशिष्टको सवारीमा नागरिकलाई असुविधा नहुने गरी प्रोटोकल बदलौँ : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत महामन्त्री थापाले चिकित्सकमाथि कुटपिट गर्ने कारबाहीको माग गरेका हुन् । उनले विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ’परम्परा’ को नाममा चलिरहेको भन्दै यसको विकल्प खोज्नुपर्ने बताएका छन् ।


उनले भनेका छन्, ‘हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद छ । दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ । विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको छ।यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ।’

उनले राष्ट्रपतिलगायत अतिविशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ।’

महामन्त्री थापाले नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गर्नुपर्ने उल्लेख गरेका छन् । महामन्त्री थापाले भनेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु । राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो । यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो । संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ ।’

शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी प्रहारबाट ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएपछि चिकित्सक आन्दोलित भएका छन् ।

संसदमा सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए । उनको टाउँकोमा चोट लागेको छ ।