विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि



काठमाडाैँ । पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजाका एक दम्पतीको एक महिनापछि आज अन्त्येष्टि गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका हेमजा हनुमानचोक निवासी राजन सापकोटा र उनका श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो ।

अनिषाको शव पहिचान गर्न समस्या भएपछि अन्तिम संस्कार गर्न ढिलाइ भएको हो । राजनको शव माघ ८ गते काठमाडौँमा शवपरीक्षणबाट पहिचान भए पनि अनिषाको पहिचान गर्न डिएनए गरिएको थियो । डिएनएको रिपोर्ट हिजो प्राप्त भएपछि काठमाडौँबाट राति शव ल्याएर बिहान शवयात्रासहित अन्तिम संस्कार गरिएको मृतकका काका प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।


उनीहरुको आजदेखि नै काजकिरिया सुरु भएको र दाजु किरिया बसेका बताइन्छ । डिभी परेर अमेरिका बस्दै आएका राजन गत वर्ष विवाह गरेर फर्किएका थिए । विवाहको पहिलो वार्षिकोत्सव मनाउन उनी पुस ३० गते नेपाल आएका थिए । उनलाई लिन श्रीमती अनिषा काठमाडौं गएकी थिइन् । पोखरा फर्किने क्रममा उनीहरू चढेको विमान अवतरणका क्रममा विमानस्थल नजिक सेतीखोँचमा दुर्घटनामा परेको हो । यती एयरलाइन्सको सो विमान दुर्घटनामा परि ७२ जनाले ज्यान गुमाएका थिए ।