काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपालको दुई दिने औपचारिक भ्रमणमा आज (सोमबार) आएका विदेश सचिव क्वात्रा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका थिए ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त अवसरमा सचिव क्वात्राले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुको तर्फबाट शुभकामना सन्देश पनि सुनाएका थिए ।
यसअघि उनले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गरेका थिए । सोमबार नै परराष्ट्र सचिवस्तरीय बैठकमा समेत उनी सहभागी थिए । नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याललगायतका अधिकारी बैठकमा सहभागी थिए ।