राष्ट्रपतिमा प्रचण्ड–ओलीको आ–आफ्नै अडान, बालुवाटारको वार्ता निष्कर्षविहीन



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दुई घण्टा वार्ता गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरएका छन् ।

राष्ट्रपति निर्वाचनको विषयलाई दिएर बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीचको वार्ता निष्कर्षविहीन भएको छ । प्रचण्ड र ओली आ–आफ्नो अडानमा रहँदा छलफल निष्कर्षविहीन बनेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारको विषयमा प्रचण्ड र ओलीबीच विभिन्न चरणमा छलफल भएपछि ठोस निर्णय हुन सकेको छैन ।


ओलीले पूर्व सहमति अनुसार नै एमालेले बनाएको राष्ट्रपति उम्मेदवार नै सत्ता साझेदार दलको उम्मेदवार हुनुपर्ने धारणा राखेका छन् । सत्ता साझेदार राप्रपा र रास्वपाले समेत पूर्वसहमति अनुसार एमालेको उम्मेदवार राष्ट्रपति बनाउनुपर्ने तर्क प्रचण्डसमक्ष गर्दै आएका छन् ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेबाट राष्ट्रपति बनाउने ‘भद्र’ सहमति भए पनि माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै एमालेलाई सहयोग नगर्ने संकेत दिएको छ । पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएपछि राजनीतिले नयाँ मोड लिएको थियो ।

कांग्रेसले विश्वास मत दिएपछि प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका अधिकांश नेताहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने सार्वजनिक रुपमा बोल्न थालेका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकले ‘स्वार्थ मिल्ने’ सँग सहकार्य गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ । एमाले नेताहरु भने एमालेको उम्मेदवार राष्ट्रपति बन्ने यस अगाडि नै सहमति भएको अभिव्यक्ति निरन्तर दिइरहेका छन् ।

पछिल्लो समयमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि उनी कांग्रेसतिर नजिक देखिएका छन् । राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरिरहेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । आज मतदाता नामावली प्रकाशित भइरहेको छ । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको मतभार निर्णायक छ ।