राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता



काठमाडौँ । नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज (शनिबार) नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पूर्व सभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर ४ मा तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।


शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको आठ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् । यस्तै, नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।