काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता हुने बताएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादीसहित चार दलको बैठकले चुनावअघिकै गठबन्धन ब्युँताउने सहमति गरेका थिए । तर, ओलीले बाहिर के हुँदैछ भन्ने आफूलाई थाहा नभएको बताउँदै आफ्नो पार्टीले राष्ट्रपति निर्वाचनमा उम्ममेदवारी दिने बताएका हुन् ।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले भने, ‘राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ । अन्त कहाँ के भइरहेको छ थाहा छैन ।’
पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा गएपछि माओवादी र एमालेको दुरी बढेको हो ।