यू-१९ एसिया विश्वकप छनोट : नेपालले मलेसियालाई १० विकेटले हरायो



कठामाडाैँ । नेपालले यूएईमा जारी आईसीसी यू-१९ एसिया विश्वकप छनोट खेलअन्तगृत आजको खेलमा मलेसियालाई पराजित गरेको छ । नेपालको यो लगातार चौथो जित हो ।

यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन जोडेर ७३ रनको चुनौति दिएको थियो ।

बलिङका बेला नेपालका लागि दिपेश कण्डेलले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४ ओभर मेडन फाल्दै ११ रन मात्र खर्चिएका थिए । त्यस्तै आकाश चन्दले ३, मिलन भबोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए ।

यसअघि सोमबार नेपालले हङकङलाई ९ विकेटले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू-१९ विश्वकपमा पुग्ने छ ।