महायज्ञमा साढे चार करोड र ३७ कट्ठा जग्गा दान



कलैया । महागढीमाई नगरपालिका–१ स्थित रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिर अगाडि आयोजना गरिएको श्रीमद् भागवत सप्ताह एवं श्री गढीमाई धार्मिक महोत्सव विधिवत्रुपमा आज समापन गरिएको छ ।

यही फागुन २ गतेदेखि सुरुआत भएको सो भागवत श्री गढीमाई बहुमुखी क्याम्पसका लागि जग्गा खरिद तथा भवन निर्माण गर्न उद्देश्यका साथ आयोजना गरिएको क्याम्पसका अध्यक्ष विजय स्वर्णकारले जानकारी दिए । यज्ञमा अहिलेसम्म विभिन्न दाताले ३७ कट्ठा जग्गादान गरेका छन् भने तुलादान, चन्दा सहयोग, गरी करिब साढे ४ करोड रुपैयाँसमेत सङ्कलन भएको भवन निर्माण तथा जग्गा खरिद व्यवस्थापन समितिले जनाएको छ ।


तराई मधेसको जिल्लामा सम्भवत पहिलो पल्ट यस्तो भव्य एवं सभ्यरुपमा महायज्ञ सञ्चालन भएको हो । सबैभन्दा बढी राष्ट्रियसभाका पूर्वसदस्य रमेश यादवले २५ लाख ६२ हजार रुपैयाँ, जिल्ला समन्वय समिति बाराका संयोजक नरेन्द्र साहले २५ लाख रुपैयाँ, गढीमाई मन्दिर विकास तथा सञ्चालन समितिका अध्यक्ष रामचन्द्र साहले २१ लाख रुपैयाँ र महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज साह कानुले रु १२ लाख ५५ हजार पाँच सय ५५ दान गरे ।

त्यसैगरी राजेन्द्र कुसवाहा ११ लाख ११ हजार एक सय ११ रुपैयाँ, जयमङ्गल कुसवाहा पाँच लाख ५५ हजार रुपैयाँ, रामबाबु यादव पाँच लाख ५१ हजार रुपैयाँ, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादवले ५१ हजार रुपैयाँ, कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजयशङ्कर यादवले एक लाख ५१ हजार रुपैयाँ र भारत विहार बस्ने साई सुइटसका मालिक सुदेश गुप्ताले रु पाँच लाख ५५ हजार, कांग्रेसका जिल्ला सचिव भैयाराम यादवले पाँच लाख ५१ हजार रुपैयाँ र वडा नम्बर ७ का वडाध्यक्ष शिवेन्द्र प्रताप सिंहले रु एक लाख एक हजार दान गरे ।

त्यस्तै महागढीमाई नगरपालिका-२ निवासी मदन मली डोम र उनका श्रीमती रेखा मली डोम ३१ हजार एक सय ११ रुपैयाँ, भाइ मनोज मली डोम बुहारी सुनिता मली डोम पाँच हजार एक सय पाँच रुपैयाँ तुला दान गरेका भागवत सप्ताह तथा गढीमाई धार्मिक महोत्सवका अर्थ कमिटी सदस्य दीपप्रकाश गुप्ताले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहनुभएको कांग्रेस मधेस प्रदेशका अध्यक्ष एवं मधेस प्रदेशको कांग्रेसको संसदीय दलका नेता कृष्ण यादवले क्याम्पसका लागि जग्गा खरिद एवं निर्माण गर्नका लागि प्रतिबद्धता व्यक्त गरे । तुला दान गर्नुभएका पाँच सय १५ जनालाई दोसल्लासहित कदर पत्रबाट मेयर यादवले सम्मान गरे ।