भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई



झापा । मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मच्छिन्द्रले ७ लाखमा चित्त बुझाएको छ ।

टाइब्रेकरमा मच्छिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षक समित श्रेष्ठले रोकेका थिए । टाइब्रेकरमा आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका रक्षक विशाल श्रेष्ठले रोके । टाइब्रेकरमा आर्मीका दीपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे । टाइब्रेकरमा मछिन्द्रका दिवाकार चौधरी, सुजल श्रेष्ठ र दीपेश घलेले गोल गरे ।


निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलमा थप १४ मिनेट अतिरिक्त समय खेल खेलाइयो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आर्मी भाग्यमानी सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रले पाएका अवसर सदुपयोग गर्न सकेन ।

आर्मीको तुलनामा मछिन्द्रले राम्रो खेले पनि फिनिसिङ लाइन कमजोर हुँदा उपविजेतामा चित्त बुझाउनुपर्यो । खेलको ७३औँ मिनेटमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

उनीहरू मैदान बाहिरिएपछि दुवै टोली १०–१० खेलाडीमा सीमित भएका थिए । खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्ता मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडी मछिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए ।

उनीहरूले नगद २५ हजार पाएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए । विजेता र उपविजेतालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए ।