सुर्खेत । बसको ठक्करबाट एक महिलाको ज्यान गएपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त र स्थानय आन्दोलनमा उत्रेका छन् ।
उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्तहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् । आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध बनाएका छन् ।
आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् । बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड–६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो ।
रावत हाल वीरेन्द्रनगर–१० को बामेखोलामा बस्दै आएकी थिइन् । बुलबुले चोकबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको थियो । प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।