बलुनपछि अमेरिकी आकाशमा देखियो अर्को अपरिचित वस्तु



निकै उचाइमा देखा परेको एक अपरिचित वस्तुलाई उत्तर ध्रुवीय महासागरमाथि अमेरिकी लडाकु विमान एफ–२२ ले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको छ ।

उक्त वस्तु कहाँबाट आएको थियो भन्ने थाहा हुन सकेको छैन । वासिङ्टनले ‘चिनियाँ जासुसी बलुन’ भन्दै त्यसलाई उसको सेनाले अमेरिकी जल क्षेत्रमा खसालेको झण्डै एक सातापछि यस घटना बाहिर आएको हो ।


एउटा सानो आकारको कारजत्रो उक्त वस्तुका भग्नावशेष सङ्कलनको काम भइरहेको अमेरिकी सेनाले जनाएको छ ।

क्यानडाकी रक्षा मन्त्री अनिता आनन्दले आफ्नो देशले उक्त वस्तुको अवस्थिति थाहा पाउन एक विमान पठाएर सहयोग गरेको बताएकी छन् । उक्त वस्तुलाई खसाल्नका लागि शुक्रबार राष्ट्रपति जो बाइडनले आदेश दिएको ह्वाइटहाउसले जनाएको छ ।

ह्वाइटहासका प्रवक्ता जोन किर्बीले मानवरहित उक्त वस्तु एउटा सानो कारजत्रो भएको र त्यो नागरिक उड्डयनमा उचित खतरा उत्पन्न गर्ने देखिएको बताएका छन् ।

उक्त वस्तु कुन प्रयोजनसाथ थियो भन्ने समेत थाहा नभएको किर्बीले बताएका छन् । किर्बीले उक्त वस्तु अलास्काको उत्तरी तटमाथि ४० हजार फिटको उचाइमा उडिरहेको बताए ।

त्यसअघि सो वस्तु अलास्कामाथि २० देखि ४० माइल प्रतिघण्टाको गतिमा उडिसकेको थियो र त्यसमा गोली प्रहार गरेर खसाल्दा त्यो साउथ क्यारोलाइनाको तटबाहिर थियो । व्यावसायिक उडानहरू ४५ हजार फिट सम्मको उचाइमा उड्ने गर्छन् ।

त्यसको भग्नावशेष सङ्कलनका लागि बफर्ट सागरमा हेलिकप्टर र विमानहरू परिचालन गरिएका छन् । ह्वाइटहाउस प्रवक्ता किर्बीले दुई लडाकू विमानहरू उक्त वस्तु नजिकै पुगेर त्यसमा कोही मानिसहरू नभएको सुनिश्चित गरेको जनाएका छन् । जसलगत्तै बाइडनले त्यसलाई खसाल्ने आदेश दिएका थिए।