काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रपतिबारे ‘निर्णायक’ छलफल गर्न ओली बालुवाटार पुगेका हुन् ।
भोलि (शनिबार) राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदैछ । आज बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितका चार दलसँग छलफल गरेका थिए । बैठकमा पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको नेताहरुले बताएका छन् ।
आज विहानको वैठकपछि चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको र आज साँझ ५ बजे पुनः वैठक बसेर राष्ट्रपतिको साझ उम्मेदवार तय गरिने बताएका छन् । पुरानो गठबन्धनका नेता साँझ फेरि वैठक बस्ने समझदारी बनिरहेका बेला प्रधानमन्त्रीसँग वार्ता गर्न ओली बालुवाटार पुगेका हुन् ।
ओलीले सभामुख र राष्ट्रपति आफ्नो दलबाट बनाउने गरी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलको समर्थन जुटाएका थिए । तर, राष्ट्रपति निर्वाचनको मनोनयन शनिबार हुँदै गर्दा सत्ता साझेदार दलहरु छिन्नभिन्न हुन सक्ने संकेत देखिएको छ ।