गण्डकी । सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ । नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो स्थल यहाँको प्राचीनताको जीवन्त उदाहरण हो ।
प्रकृति र संस्कृतिले विविधतापूर्ण यो स्थल हिमाली एवं पहाडी दृश्यावलोकनका लागि महत्वपूर्ण रहेको स्थानीय पूर्णवीर गुरुङ बताउँछन् । फेदीखोला गाउँपालिका–५ मा रहेको यस स्थल पुग्न विभिन्न मार्ग प्रयोगल गर्न सकिन्छ । खड्केटारी पञ्चासे ग्रामीण सडकको छेउमा बाँगे मैदान पुग्नुअघि बाँगेकोट छ । बाँगे गाउँमा रहेको रङ्गुवा, बाँगेथुम कालाभैरवलाई प्राचीनकालदेखि बाँगेकोटका रूपमा लिने गरिएको हो ।
कोटको दक्षिण भागका रङ्गुवावासीले यसलाई रङ्गुवाकोट भन्दछन् । पूर्वी भाग भाटखोला, आरुखर्क र फेदीखोलाका बासिन्दाले बाँगेकोट नै भन्दै आएको बाँगे पोखरा सामुदायिक मिलन चौतारीका कोषाध्यक्ष एवं बृहत् फेदीखोला पोखरा सम्पर्क समाजका सदस्य राजकुमार क्षेत्रीले बताए । उत्तर–पश्चिम भागका बाँगे, बाङ्सिङ, सरादीसम्मका बासिन्दाले पनि यसलाई बाँगेकोट नै भन्ने गरेका छन् । बाँगेकोट नजिकैको घिमिरे गाउँ यहाँको प्राचीन बस्ती हो ।
परापूर्वकालदेख नै सुरक्षाका दृष्टिले अग्लो पर्खालले घेरिएको यस कोटको बीचमा भैरवस्थान र पुजारी घर छ भने पर्खाल बाहिर बलि दिने मौलो छ । यो कोट आरुखर्कका रजौटाले बनाएको भन्ने किंवदन्ती छ । प्राचीनकालमा आफ्नो भरणपोषणका लागि माना चामल र बिर्ता जग्गाका मोहीबाट उठेको रकम बुझाउन जम्मा हुने यो ठाउँबाट कटुवालले खबर प्रसारण गर्ने (घोक हाल्ने) र ज्योतिषीले भविष्यवाणी गर्ने गरेको बूढापाका बताउँछन् ।
वर्षको दुई पटक बडादशैँ र चैतेदशैँमा धुमधामसँग पूजा जात्रा हुने यस कोटमा रङ्गुवा, बाँगे र भाटखोलाका तालुकदार मुखियाबाट बलि दिने पाठो, रागो र माना घिउ ल्याउने प्रचलन थियो । पहिले–पहिले नुवाकोट कालाभैरव मन्दिरमा झैँ रङ्गुवा बाँगेथुम कालाभैरव स्थानमा पनि तिमल्सिना थरका बाहुन पुजारी राख्ने प्रचलन रहेकामा अहिले भने दुवै स्थानमा पुजारी यही थरको हुनुपर्ने भन्ने कुनै अनिवार्य छैन ।
दशैँको फूलपातीमा रङ्गुवाली तिमल्सिनाका घरबाट फूलपाती, आरुखर्के रजौटाका दरबारबाट दहीको ठेकी लगिने चलन रहेकामा फूलपाती यथावत नै ल्याइने चलन छ । प्रत्येक जातजातिका भूमिका रहने गरेको यहाँ नवमीका दिनमा अरियाँले दमाईबाट बाजागाजा, रङ्गुवाली विश्वकर्माबाट हातहतियारमा साँध लगाउने तथा स्थानीय सार्कीबाट बलिको राँगो लैजाने, सफा गर्ने चलन रहेको थियो । पछिल्ला समयमा सबै मिलेर कोटको संरक्षण र रेखदेख गर्ने गरेका छन् ।
बाँगेकोटमा हाल नवनिर्मित मन्दिर, भवन तथा पर्खाल एवं घना रुखवृक्ष छन्, बिर्ताप्रथाको उन्मूलन र तालुकदार परम्पराको खारेजी भएपछि अक्षयकोष स्थापनाबाट पनि यस कोटको विकासमा योगदान पुगेको छ । कोटमा रहेका पुराना खुँडा र खुकुरीले यहाँको प्राचीनतालाई झल्काउने गरेको छ ।
धार्मिक, प्राकृतिक र पर्यटकीय आकर्षणको केन्द्र बाँगेकोटको विकासलाई फेदीखोला गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘हामी गाउँपासिलकाभित्रका धार्मिक एवं ऐतिहासिक स्थललाई संरक्षण र विकाससँगै प्रवद्र्धन गर्ने गरेका छौं’, उनले भने, ‘बाँगेकोटको इतिहास तथा महत्वलाई जीवन्त राख्न गाउँपालिकाको स्थानीय पाठ्यक्रममा पनि यस स्थललाई समेटिएको छ ।’
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुरातत्व विभागको सहयोगमा निर्माण भइरहेको छ । बाँगेकोटको महत्वलाई उजागर गर्न स्थानीय युवाको सक्रियतामा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रवद्र्धनात्मक कार्यक्रम जारी छन् । हाइकिङका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आगामी फागुन २७ गते बाँगेकोटमा हाइकिङ गराउन लागेको उक्त संस्थाका संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।