काठमाडौँ । नेपाल औषधी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्न दरखास्त आह्वान गरिएको छ । महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको दरखास्त आव्हान सम्बन्धी सूचना प्रकाशित गरेको हो ।यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन कार्यालय समयभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिंहदरबारस्थित सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिन सूचना प्रकाशन गरिएको छ ।
यस पदका लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित जनस्वास्थ्य, फार्मेसी विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको र दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।