नागरिकता विधेयकबारे सांसद यावदले भने, ‘राष्ट्रपतिको ‘भिटो’ बारे संसदमा छलफल गरौं’



काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनैपनि खेलबाट नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष शुरु चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद यादवले आवाजबिहीनको आवाज नसुने आफ्नो पार्टीले संघर्ष सुरु गर्ने चेतावनी दिएका हुन् । उनले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गरे ।


उनले भने, ‘जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने ? रुँदै आउँछन् उनीहरु । उनीहरुको लागि न्याय दिने आज कोही छैन । यही न्यायको मन्दिर हो नि । म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदनबाट संघर्ष गर्छ ।’

सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताए । उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिँदा नागरिकताको अध्यादेश सर्वोच्च अदालतले रोकेको बताए ।

‘दुई पटक नागरिकता विधेयक पास गरेर राष्ट्रपति समक्ष पठाउँदा पहिलो पटक फिर्ता पठाइयो । दोस्रोपटक पुनः त्यो विधेयकमा लालमोहर लागेन, आखिर किन लागेन ? यो कसले गराएको हो ? राष्ट्रपतिको ‘भिटो’ अधिकारबारे यो संसद्मा बहस हुन जरुरी छ’, उनले भने ।