टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजार बढीको मृत्यु भएको छ ।
सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन् । अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ गरि ३३ हजार १७९ पुगेको छ । १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराईरहेका छन् ।
दर्जनौं घाइतेको उद्धार कार्य जारी छ । एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य संगठनले औंल्याएको छ ।