काठमाडौँ । टर्कीकोे दक्षिणपूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ ।
भूकम्पमा परेर घाइते हुनेहरूको संख्या टर्कीमा मात्रै ४० हजारभन्दा बढी पुगेको बताइएको छ । प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य प्रभावित बन्दा भग्नावशेषमा फसेकाहरूलाई जीवितै उद्धारको सम्भावना कम हँुदै गएको छ । उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।
करिब ६ हजार भवन भत्केकाले मृतकको संख्या अझै बढ्न सक्ने उद्धारकर्मीले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएको हुन सक्ने अनुमान गरेका छन् ।
अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । युरोपेली संघ, रुसी महासंघ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रिस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अस्ट्रेलियाले पनि आफ्नो सामथ्र्यअनुसार आर्थिक तथा भौतिक सहायता उपलव्ध गराएका छन् । नेपालले पनि आवश्यक सामग्रीसहित चिकित्सकको टोली पठाउने तयारी गरेको छ ।