जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनर्संरचना : प्रधानमन्त्री



कास्की । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन दिएका छन् ।

पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उनले केन्द्रीय समितिको बैठकअघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गरे । उनले भने, ‘माथि माथिकाले ल्याएका कुराले समस्या त्यति समाधान हुन सकेन । हामी आफ्ना आफ्ना कुरा मात्र लिएर आउने भइयो । दुई महिना जनतामा गएर सुझाव लिएर आउनुहोला । जनताका सुझावका आधारमा पार्टी पुनर्निर्माण गर्नेछौँ ।’


प्रधानमन्त्री दाहालले हाल पार्टी अप्ठ्यारोमा रहेकाले जनताको सुझाव र आलोचनाका आधारमा आफूले डकुमेण्ट बनाउने र त्यसलाई केन्द्रीय समितिमा लग्ने बताए । उनले केही समूहसँग तत्काल पार्टी एकताको सम्भावना रहेको जानकारी दिए ।

‘पार्टी एकताको सम्भावना भएकासँग एकता गर्ने, नभएकासँग समाजवादी मोर्चा बनाउने र छलफल गर्दै गएर बामपन्थी धुव्रिकरणको बाटो अबलम्बन गर्नुपर्ने हुन्छ’, प्रधानमन्त्रीले भने, ‘केही समूहसँग तत्काल पार्टी एकतासमेतको सम्भावना देखिएको छ । यसरी पार्टीलाई पुनःगठन गर्दै जनआधार विस्तारको सम्भावना पैदा हुन्छ ।’

जनतालाई आशा दिलाउने काम अहिलेको सरकारले गरेकाले जनतालाई सरकारका काम बुझाउन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । प्रधामन्त्री दाहालले १२ बुँदे सहझदारीका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने अवस्था अहिले रहेको बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति घोषणा भइसकेकाले देशको आर्थिक, राजनीतिक, सांस्कृतिक पक्षलाई हेर्दा संविधान, गणतन्त्र र शान्ति सम्झौताका लागि काम गरेका पार्टी एक ठाउँमा अभिनुपर्ने बेला आएको बताए ।