चार दलको बालुवाटार वैठक सकियो : राष्ट्रपतिबारे ५ बजेपछि निर्णय



काठमाडौँ । चार राजनीतिक दलको बालुवाटार बैठक सकिएको छ । राष्ट्रपतिको उम्मेदवार चयनका विषयमा भएको तीन घण्टा लामो वैठक विना निष्कर्ष सकिएको हो । आज (शुक्रबार) साँझ फेरि बैठक बस्ने समझदारी गर्दै चार दलका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।

बैठकको जानकारी दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज बिहानको बैठक सकारात्मक भएको बताएका छन् ।बिहान चार दल एक ठाउँमा बसेर विभिन्न विकल्पका बारेमा छलफल र प्रस्ताव भएको उनले जानकारी दिए ।


बैठकपछि थापाले भने,  ‘दलहरुबीच एकपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ । अब आ–आफ्नो पार्टीमा छलफल गर्नु भएकाले साझ ५ बजे पुनः अर्को बैठक बसरेर राष्ट्रपति उम्मेदवार टुंगो लगाउँछौं ।’ त्यस्तै थापाले राष्ट्रपतिबारे विभिन्न कोणबाट छलफल भएको र त्यो सकारात्मक भएको बताए । 

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीका नेता सहभागी थिए। कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।